भोटेकोशी बाढीबाट उत्पन्न परिस्थितिको सम्बोधनमा जुरी नेपालको सहयोग
२४ भदौ, २०८३, ललितपुर ।

मिति २०८३ भदौ १० गतेको रसुवा भोटेकोशी बाढीले उत्पन्न गरेको महाबिपत्तिका कारण सयौंको ज्यान जानुका साथै कैंयौ व्यक्तिहरु घाइते र बेपत्ता भएको एवं यसबाट भएको ठूलो जनधनको क्षतिप्रति जुरी नेपाल परिवारले गहिरो दुःख व्यक्त गरेको छ। विपद्को घडीमा राहत र उद्दारका लागि नेपाल सरकारले गरेको सार्वजनिक आव्हानबमोजिम यस संस्थाको २०८३ भदौ १८ गते बसेको कार्यकारी समितिको बैठकको निर्णयानुसार जुरी–नेपालको तर्फबाट “प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोष” को खाता (नबिल बैंक खाता नं १७१००१७५०५२८५) मा नगद रु. ६०,०००/- (अक्षेरेपी साठी हजार मात्र) रकम जम्मा गरेको छ ।
यस दुखद घडीमा बाढीका कारण ज्यान गुमाउनुहुने सबैप्रति जुरी नेपालले हार्दिक श्रदाञ्जलि व्यक्त गर्नुका साथै आफन्तजन गुमाउनुभएका सम्पूर्ण परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गरेको छ । बाढीले बेपत्ता पारेका व्यक्तिहरुको शिघ्र खोजि तथा उद्दारका लागि जुरी नेपालले सरकारलाई हार्दिक अनुरोध समेत गरेको छ । साथै यस विपद्को घडीमा राज्यका सम्पूर्ण संयन्त्रले अवलम्बन गरेका अथक प्रयास र कदमको संस्थाले स्वागत गर्नुका साथै यस कार्यमा अहोरात्र खटिनुहुने सुरक्षा निकाय लगायत सबै उद्दार तथा राहतकर्मीहरुप्रति धन्यवाद व्यक्त गर्दै यस कार्यमा संस्थाको तर्फबाट पनि साथ, समर्थन र सहयोग रहेको व्यहोरा जुरी नेपालबाट यसअघि प्रकाशित बिज्ञप्तिमा समेत जनाइएको छ ।
यस प्रकारको बिपत्तिमा अझ बढी जोखिममा रहने समूहहरु (विशेष गरी गर्भवती तथा सुत्केरी महिला, बालबालिका, किशोरी, अपागंता भएका व्यक्ति, दिर्घरोगी तथा जेष्ठ नागरिकहरुको) को विशेष संरक्षण र सम्बोधनका प्रयासहरु अझ बढी प्रभावकारी बनाईनुपर्ने अपिलका साथै प्रभावित सबैको तत्काल राहत, उद्दार पूर्नस्थापना तथा प्रभावितहरुको सत्य तथ्यमा आधारित सूचनाको सहज पहुँचका लागि समेत जुरी नेपालले सबै सरोकारवालाहरुसँग हार्दिक अपील गरेको छ ।
